Pages

Tuesday, January 10, 2012

पुराना 2 कविताहरू


पुराना 2 कविताहरू
-रवि प्राञ्जल-
(1) किनाराहरूमा
वारि एउटा किनारा छ
पारि एउटा किनारा छ
म वीचमा छु किनाराहरुको

एउटा किनारामा घाम छ
एउटा किनारामा जून छ
दुवै किनाराहरू स्थिर छन्
म बीचमा छु र अस्थिर छु

म सँग जून छैन
म सँग घाम पनि छैन
केवल एउटा बेग छ मसँग
केवल एउटा गति छ मसँग
कहिले बेगिन्छु र जून बाट छेकिन्छु
कहिले बेगिन्छु र घाम बाट टाढिन्छु
तर बगिरहन्छु म
किनाराहरुसँगै
कहिले घामले छुन खोज्छ अलिकति तातिन्छु
कहिले जूनले छुन खोज्छ अलिकति चिसिन्छु
घरी एउटा किनारा भत्किन्छ फेरि बन्छ
घरी अर्को किनारा भत्किन्छ फेरि बन्छ
यसरि -
बगिरहन्छु म
दुबै किनाराहरू छुँदै
कहिले हावा जस्तै
कहिले हुरी जस्तै

तर
पहिले किनारा बनेर म बगेको हैन
पहिले म बगेर नै किनारा बनेको हो l
(गोरखापत्र,शनिबार 27 मार्ग 2049)

(2) हिउँ
जमेको पानी मात्र हो हिउँ
फगत रूप परिवर्तन पानीको
निर्मित संरचना मात्र हो हिउँ
हिउँको अस्तित्व पानीमै हुन्छ
जमाए जम्छ पानी
उमाले उम्लन्छ पानी

हिउँ पग्लन्छ आगो लगाएर
तर आगो जम्दैन हिउँ लगाएर
आगो निभ्छ पानी खन्याएर
पानी जम्दैन तर आगो लगाएर

हिउँ बन्नु भनेको आखिर
ताली बज्नु जस्तै हो
ताली पनि त आफैमा सम्पूर्ण छैन
ताली बाट निर्मित ध्वनि
ताली बाट निर्मित आवाज
जो पहिल्यै बन्द थियो हत्केलामा

डराउनु पर्दैन हिउँसंग
हिउँले पोल्दैन
फगत पानीले पोल्छ
जसरि फूलले घोच्दैन
फूलको सुन्दरताले घोच्छ

तर पगाल्नै पर्छ भने हिउँ
आगो बालिरहनु पर्दैन
पानी हाली दिए पनि हुन्छ
फलामले फलाम काटे जस्तै
पानीले पानी काट्छ l
(गरिमा,असार 2052)