गजल
दिन उस्तै रात उस्तै,उस्तै बिहान हुन्छ भने
मान्दिन म भोलि फेरि यस्तै बिधान हुन्छ भने ।
सयौँ जंघार तर्न सक्छु आँधी हूरी खप्न सक्छु
थाकें भने काख उस्कै मेरै सिरान हुन्छ भने ।
तयार हुन्छु मर्न लाई हाँसी हाँसी आजै बरु
मेरो भावी स्वरुपको आजै किटान हुन्छ भने ।
खोस्रन्न म माटो कतै रोप्दिन म फूल पनि
टुक्रिएर धरती मेरो फेरि चिरान हुन्छ भने ।
काटे हुन्छ झिके हुन्छ बिछ्याएका लाइनहरु
दवाइ सँगै मुहानमै विष मिलान हुन्छ भने ।
[माघ,२०६८] .
0 comments:
Post a Comment