Pages

Friday, August 3, 2012

ट्युब स्टेशनमा एक साँझ


ट्युब स्टेशनमा एक साँझ   - रवि प्राञ्जल


एउटा अधुनातन गाइने
विरहको धूनमा
आफ्ना निपूण चलायमान औंला हरुले 
छेड्दैछ गितारका तारहरु

यो खुल्ला आकाश विहीन
भूमिगत स्थलमा
यो के हुदैछ मलाइ ?
उड्दैछु म आकाशमा
यो स्टेशन माथिको आकाश भन्दा पर
धेरै पर
जहाँ म देखिरहेछु
मेरै गाउँको चौतारी र बर पीपल
जहाँ
पुछ्दै टोपीले पसिना
गाउदै छ  एउटा सुकुमार गन्धर्ब
हृदय विदारक गीत -
'आमैले सोध्लिन् नि खै छोरा भन्लिन् नि '
आह !
एक्कासी खस्छु म
यो श्रुतिमधुर फ्युजनसँगै
त्यो नीलो समुन्द्रमा
जहाँ डुब्दै छ  बिशाल 'टाइटनिक'
र बजिरहेछ बिरही भाकामा-
'माई हार्ट ......'
            -२२ डिसेम्बर २०१०,लण्डन ।

कथा

आउँदैछ...........

Tuesday, June 19, 2012



हिलै माथि फुल्छ कमल,काँढाबीच फूलहरु,
चम्केकै छ युगौँदेखि बादलबीच 'रवि' पनि ।

Sunday, June 10, 2012


  यस बेला


तार छिनेको यन्त्रमा
निषाद’ सुनिन्छ ‘षडज’
र विफल भएको छ
साधकको रियाज
यस बेला -
बेसुरमा छ गायक ।

असमान गतिमा
अनियन्त्रित छ लय,
र लय भुलेर बेतालमा
वाल्ज’मा बज्छ‘रूपक’
यस बेला -
अस्थिर छ वादक ।

छन्दहीन पंक्तिहरूमा
आरूढ छ
कविको अप्रकट भाव,
र भङ्ग भएको छ
गति र यतिका नियम
यस बेला -
मुडहीन छ कवि । ·
           -
                रविप्राञ्जल
                 काठमाडौँ ।
     
                 गजल

धुवाँ - धुलो खडेरी मै फुलेको छ चैत  ।
प्रिये तिमी फुल्ने भए म'नि फुल्छु है त ।

शिखरमा पुगेपछि धरातलै बिरस्यौ,
तिमी लड्दा काँध थाप्ने तिम्रा साथी खै त ?

जति बढोस् रुवाउने र रुने बीच दुरी,
हुन्न आखिर जित यहाँ रुवाउने कै त ।

देखाउने दाँत जस्तै भयो 'नै ति क ता',
खोजूँ कता, भेटिँदैन पहिलो अक्षर 'नै' त ।

भित्र रम्छ एउटा चरा बाहिर रुन्छ अर्को,
म 'नि रुन्छु संसार यो सम्झिएर द्वैत ।

रवि प्राञ्जल
१६ चैत्र २०६८
काठमाडौ ।

Friday, May 11, 2012

गर्दिन म बैगुनीले  करले गर्ने जस्तो माया
गर्छु म त पीपलुलाइ बरले गर्ने जस्तो माया ।
-गजल-
        -रवि प्राञ्जल
हुने खाने त्यता तिर l
हुँदा खाने यता तिर  l

उतै तिर चल्छ सुवास
चल्छ हावा जता तिर l

पर्न छाड्यो जूनको किरण
फूल, पात, लता तिर l

ढुंगे युगमै पुग्यो मान्छे
फेरि दन्त्य-कथा तिर l

जता हेरूँ अँध्यारै छ
खोजूँ 'रवि' कता तिर ?
            -